सत्य निरुपण विधेयकप्रति एमालेकाे आशंका

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बास्कोटाले सत्य निरुपण तथा मेलमिलाप विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने गम्भीर सवाल उठेको बताउनुभयो ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विधेयकले मानव अधिकारको सम्बन्धमा संविधानको परिकल्पनालाई समेत चुनौती दिएको बताउनुभयो ।

न्याय निरुपणको सम्बन्धमा विशेष अदालतको माग गर्नुले अन्तर्राष्ट्रिय मानव अधिकार, कानून र संविधानको बर्खिलापमा गएको उहाँको भनाइ छ । न्याय निरुपण अहिले भइरहेकै अदालतबाट हुनुपर्नेमा उहाँको जोड छ ।

नेकपा (माओवादी केन्द्र) की सांसद यशोदा गुरुङ सुवेदीले सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभयो । राज्यका निकायहरु स्वतन्त्र ढंगले चल्न नसकेको भन्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याउन राज्यका निकायहरु स्वतन्त्र रुपले चल्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको सम्बन्धमा एनजिओ, आइएनजिओको निर्देशन अनुसार राज्यका अंगहरु चलेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डरीले समस्या समाधानका लागि १ अर्ब ८० करोडको बजेटको व्यवस्था गरिएको भन्दै पारदर्शी रुपले काम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले छानबिन समितिमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनु भयो । एनजिओ आइएनजिओको सहयोग लिदाँ एकिकृत रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हत्या, अपहरण जस्ता मानव अधिकार उल्लंघन गर्नेहरुलाई आम माफी दिनु नहुने बताउनुभयो । उहाँले घुमाउरो पाराले पीडकलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याइएको टिप्पणी गर्नुभयो । उहाँले पीडकलाई फौजदारी दायित्व बहन गराउनुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सत्य निरुपण तथा छानबिनको विषय केवल पीडक र पीडित पक्षको मात्र नभई राज्यको विषय भएको बताउनुभयो । उहाँले यस सम्बन्धमा पीडक र पीडित भनेर विभक्त हुनु नहुने बताउनुभयो । उहाँले विधेयकलाई हरेक दिन बैठक राखेर भएपनि यही संसदले टुंग्याउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले शान्ति प्रक्रियाको बाँकी रहेको काम तत्काल टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकारको विश्वव्यापी मान्यतासँग सुहाउँदो गरी बाँकी काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । सांसद पन्तले सर्वोच्च अदालतले दिएको आदेश, अन्तर्राष्ट्रिय कानून, द्वन्द्वपीडितहरुको मागलाई ध्यानमा राखेर यो विधेयक पास गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले द्वन्द्वपीडित परिवारको मागलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई विश्वको नमूनाको रुपमा बनाउनुपर्ने बताउनुभयो ।

Share your love