सत्ता गठबन्धन भत्किनेप्रति केपी ओलीको आशङ्का

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयाे ।

एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेकाे दाबी गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उहाँकाे भनाइ छ । कुनै पनि बाहानामा पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले आउँदाे स्ववियु चुनावमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी सङ्घले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गर्नुभयो । उहाँले नेविसङ्घलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको टिप्पणी गर्नुभयाे ।

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वकाङ्क्षा बोक्न नहुने बताउनुभयो ।

 

अन्तिम अपडेट: फागुन २, २०७९

Share your love