सञ्चार माध्यमले सरकारको महिमा मात्रै गाउनु हुँदैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ ।

आज (शुक्रबार) द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ ।

उहाँले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गर्नुभयो । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउनुभयो । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनु पर्ने बताउनुभयो । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एशियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ । जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडी बढ्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

Share your love