शेखर–गगन संवाद सुरु : निकटस्थमार्फत भेटघाट तिव्र पार्दै देउवा 

प्रधानमन्त्री बन्न कांग्रेसभित्र कसरत

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका प्रधानमन्त्रीका आकांक्षीहरूले पार्टीभित्र बहुमतका लागि सक्रियता बढाएका छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा चुनिनुपर्ने पहिलो अनिवार्य परीक्षाका लागि उनीहरूले अर्थपूर्ण भेटघाट र संवाद सुरु गरेका हुन् ।

निर्वाचन प्रचारकै क्रममा भावी प्रधानमन्त्रीको एजेन्डा अघि सारेका महामन्त्री गगन थापा र अर्का दाबेदार नेता शेखर कोइरालाले छलफल थालेका छन् । सभापति शेरबहादुर देउवाले पनि आफ्ना विश्वासपात्रहरू प्रवक्ता डा. प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई इतर समूह र गठबन्धन दलका नेतासँग छलफलमा खटाएका छन् ।

संस्थापनइतर समूहका महामन्त्री थापा र नेता कोइरालाबीच निर्वाचनपछि पहिलोपटक शुक्रबार साँझ भेट भएको हो । स्रोतका अनुसार दुई नेताबीच कोइरालानिवास महाराजगन्जमा करिब एक घन्टा ‘वान अन वान’ वार्ता भएको थियो । भेटमा दुई नेताबीच थप छलफल गरेर मिलेर जाने सहमति बनेको छ । ‘उहाँहरूबीच एक घन्टा वान अन वान वार्ता भयो । अब औपचारिक रूपमा छलफल सुरु भएको छ । दुवैबीच थप छलफल गरेर मिलेर जाने भन्ने भएको छ । छलफलबाट टुंगो लाग्छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

निर्वाचनका क्रममा विराटनगरमा रहेका कोइरालाले काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । बिहीबार काठमाडौं फर्किएपछि शुक्रबार उनले भेटवार्ता थालेका हुन् ।

कोइरालाले बुधबार विराटनगरमा पत्रकार भेटघाटका क्रममा संसदीय दलको नेता बन्ने विषयमा सभापति, वरिष्ठ नेतालगायत नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने दोहोर्‍याएका थिए । ‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन । यो सिस्टममा नम्बरको पनि गेम हुन्छ भन्ने बुझ्न आवश्यक छ,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘नम्बर गेममा जो अघि हुन्छ ऊ नै संसदीय दलको नेता चुनिन्छ । त्यसपछि मात्र प्रधानमन्त्री बन्ने विषयले प्रवेश पाउँछ ।’

कोइरालानिकट स्रोतका अनुसार इतरबाट दाबी रहने अवस्थामा आफैँ अगाडि बढ्ने गरी उनले तयारी थालेका छन् । ‘१४औँ महाधिवेशनको म्यान्डेटअनुसार पनि सभापतिपछि उहाँ वैकल्पिक नेताका रूपमा हुनुहुन्छ । उहाँ तल झर्ने मनस्थितिमा हुनुहुन्न,’ स्रोतले भन्यो । महामन्त्री थापा पनि कोइरालासँग सहमति नजुटेको अवस्थामा पनि ‘ब्याक’ नहुने गरी तयारीमा छन् ।

त्यस्तै, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका विश्वासपात्र प्रवक्ता डा. प्रकाशशरण महतले पनि शेखर कोइरालालाई भेटेका छन् । विशालनगरस्थित कोइरालाको सचिवालयमा पुगेर महतले देउवालाई समर्थनको सन्देशसहित बधाई दिएका छन् । महतले कोइरालालाई निर्वाचित भएकोमा शुभकामना दिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् । महतले विरलै भेट्ने सूचीमा रहेका कोइरालासँगको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । देउवालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा समर्थनका लागि देउवाको कूटनीतिक भेट रहेको धेरैको विश्लेषण छ ।

सभापति देउवाले प्रवक्ता महत, उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पार्टीमा इतर समूहका नेता तथा संसद्मा प्रतिनिधित्व गर्ने साना दललाई आफ्नो पक्षमा पार्न र पार्टीभित्र आफ्नो पक्षमा माहोल बनाउन लगाएका छन् । महतले शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका थिए । शुक्रबार उपसभापति खड्काले जनमत पार्टीका अध्यक्ष सिके राउत र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । खड्काले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरे । भेटमा निर्वाचनको समीक्षा, गठबन्धनको निरन्तरता र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्नेलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेसमा प्रधानमन्त्रीका अर्का आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टी र गठबन्धनका शीर्ष नेतासँग एकसरो छलफल गरिसकेका छन् । उनी हाल आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद ज्ञापनमा व्यस्त छन् । पौडेल आइतबार काठमाडौं फर्किएपछि थप तयारीमा लाग्ने योजनामा छन् ।

पूर्वमहामन्त्री शशांक कोइरालाले पनि प्रधानमन्त्रीमा दाबीपछि आन्तरिक तयारी गरिरहेका छन् । नेता प्रकाशमान सिंह भने प्रधानमन्त्रीका लागि दाबी गरे पनि तयारीमा खासै सक्रिय छैनन् । सिंह अवस्था हेरेर अगाडि बढ्ने योजनामा छन् । ‘प्रधानमन्त्रीका लागि सबै रूपमा आवश्यक योग्यता मसँग छ । मतदाताहरूको चाहना पनि प्रधानमन्त्री भइदेओस् भन्ने छ,’ सिंहले भने, ‘मैले परिस्थितिलाई नजिकबाट हेरिरहेको छु । परिस्थिति हेरेर उपयुक्त निर्णयमा पुग्नेछु ।’

अंकगणितअनुसार संस्थापन पक्षमा प्रत्यक्ष जितेका ३४ र समानुपातिका सम्भावित २२ का आधारमा ५६ सिट रहने देखिन्छ । तर, यसै समूहमा रहेका महामन्त्री विश्वप्रकाश शर्माले भने महामन्त्री थापालाई संसदीय दलको नेतामा सघाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै, इतर समूहसँग प्रत्यक्ष जितेका २२, अग्रता रहेको १ र सम्भावित समानुपातिक ११ गरी ३४ सांसद छन् ।

महामन्त्री शर्माले बारम्बार दोहोर्‍याएका छन्– गगनलाई प्रधानमन्त्री बनाउने अभियानमा छु 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई नै प्रधानमन्त्री बनाउने अभियानमा आफू लागेको बारम्बार बताउँदै आएका छन् । मंगलबार थापानिवास रातोपुलमा बधाई दिन पुगेका उनले पुनः सोही अडान दोहोर्‍याए । उनले थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउन प्रयत्न गर्ने पनि बताए ।

‘अब देशको आवाज र आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले प्रधानमन्त्री पदका लागि अगाडि बढ्नुस् भन्नका लागि आएको हो । त्यो भन्ने कुरा मात्रै होइन, त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि आएको हो,’ थापालाई बधाई दिँदै शर्माले भनेका थिए, ‘संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य ठानेको छु ।’

संसदीय दलमा अंकगणित : संस्थापन पक्षका प्रत्यक्ष निर्वाचित र सम्भावित समानुपातिक सांसद : ५६

प्रत्यक्ष निर्वाचित (३४) : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा (शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन्), एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का । महामन्त्री शर्माले महामन्त्री थापालाई सघाएको अवस्थामा एक मत घट्नेछ ।

समानुपातिक (२२) : शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि ।

इतर समूहका प्रत्यक्ष निर्वाचित, अग्रता लिएका र सम्भावित समानुपातिक सांसद : ३४
प्रत्यक्ष (२२) : डा. शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ । बाजुरामा जारी मतगणनामा अग्रता लिएका बद्री पाण्डे विजेता भए २३ पुग्ने ।
समानुपातिक (११) : वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल

-नयाँ पत्रिका बाट 

Share your love