रौतहटमा कुखुराको फार्मबाट १८० केजी गाँजा बरामद

रौतहट — रौतहटको सदरमुकाम गौरस्थित नेपाल भारत सीमा क्षेत्रमा रहेको एक कुखुरा फार्ममा जमिनमुनि गाडेको अवस्थामा प्रहरीले १८० किलो गाँजा बरामद गरेको छ । युवकसहित बरामद गरेको गाँजाको प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

गौर नगरपालीका– ३ स्थित भारतीय व्यापार अफरोज मियाले सञ्चालन गरेको फलक पोल्ट्री (कुखुरा) फार्मबाट शनिबार साँझ १२ पोकामा १ सय ८० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

कुखुरा फर्मको जमिनमुन‍ि गाडेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । मकवानपुरबाट गाँजा ल्याउने ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार गाँजा ल्याउने वाग्मती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र चालक मकवानपुरका सुरेन्द्र स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कुखुरा फार्मका सञ्चालक मियाँ फरार छन् । फर्ममा रहेको ट्रक र चालकलाई सोधपुछ गर्दा मकवानपुरबाट गाँजा ल्याएको खुलको हो । केही समय यता जिल्लामा गाजाको ओसारपसार बढेको पाइएको छ ।

एक महिना अघि गौर नगरपालिका–२ स्थित लालबकैया नदी हुँदै भारत गाँजा तस्करी गर्न लागेको अवस्थामा अस्थायी प्रहरी पोष्ट महादेवपटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको संयुक्त टोलीले १७ पोका गाँजा फेला पारेको थियो । प्रहरीलाई देखेपछि गाजा बोक्ने समूह फरार भयो । पोका खोलेर हेर्दाभित्र २०४ किलो लागूऔषध गाँजा बरामद भएको डिएसपी सुनिल मल्लले बताउनुभयो।

Share your love