शान्ति प्रक्रियाका काम पूरा गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच बुधबार गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटमा नेपाल–अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तराष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भइसकेको उहाँले बताउनुभयो ।

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कुटनीटिक साझेदारसँग यसको सहजताका लागि पहल लिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताउनुभयो । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

Share your love