वीरगंज महानगरले ३२ वटै वडामा आगो बाल्ने

बढ्दो चिसोलाई मध्यनजर गरेर वीरगंज महानगरपालिकाले ३२ वटै वडामा लक्षित समुदायको लागी आगो बाल्ने भएको छ ।

हीवार  महानगरको विपद् व्यवस्थापन समितिको बैठकले ३२ वटै वडाका स्थानको पहिचान गरी जाडोबाट बच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

नगर प्रमुख सिंहका अनुसार सम्बन्धित वडाध्यक्षहरूको समन्वयमा महानगरपालिकाले ती स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय गरेको छ । बजार, सडक, चौर तथा खुला आकाशमुनि रात बिताउनेहरूलाई मध्यनजर गरी आगो बाल्ने स्थानको पहिचान गरिएको छ ।

नगरप्रमुख राजेशमान सिंहले चीसो शुरू भइसकेकोले चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउन आवश्यक स्थानको पहिचान गरेर चाँडै व्यवस्था गर्न वडाध्यक्षहरूलाई निर्देशन दिनुभएको हो ।

उहाले एकरदुई दिनभित्र स्थान पहिचान गरी आगो बाल्ने व्यवस्था गर्न वडाध्यक्षहरूलाई निर्देशन दिनुभएको हो । नगरप्रमुख सिंहले वडालाई आवश्यक पर्ने दाउरा महानगरपालिकाले व्यवस्थापन गर्ने जानकारी गराउनुभयो  ।

डिभिजन वन कार्यालय, पर्सासँग आवश्यक दाउरा माग गरेको र आठ चट्टा दाउरा दिइने आश्वासन आएको नगरप्रमुख सिंहले बताउनुभयो । नगरप्रमुख सिंहले महानगरले विभिन्न स्थानबाट सङ्कलन गरेका छ ट्रक रूखका जराहरू आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि बताउनुभएको हो ।

Share your love