वीरगंजमा सोमवारदेखि सडक सुरक्षा सप्ताह शुरू भएको छ । आजदेखि शुरू भएको सडक सुरक्षा सप्ताह शुरूको वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै ट्राफिक व्यवस्थापनको लागि आफ्नो साथ र सहयोग रहने बताए ।

उनले वीरगंज ट्राफिक व्यवस्थापनमा महानगरले भूमिका खेलिरहेको र यहाँको पार्किङ व्यवस्थापन समस्या भएको बताए । उनले सरसफाइ, ट्राफिक व्यवस्थापनबाट नगरको सौन्दर्य झल्किने हुनाले यसमा महानगरको साथ र सहयोग हुने बताए । उनले ट्राफिक व्यवस्थापनको लागि वर्षमा एकपटक सप्ताह मनाएर नपुग्ने भन्दै यसको वर्ष दिन व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय भीमकान्त पौडेल, शिव लम्साल, प्रहरी उपरीक्षक कोमल शाह, ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू ग्यासुद्दिन मियाँ, प्रकाश खेतान, राम सर्राफ, विदुर गुप्ता, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, वडाध्यक्ष जगतसाह कानू, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन समारोहपछि प्रभातफेरी निकालिएको थियो र नगरपरिक्रमापछि घण्टाघरमा आएर विसर्जन भएको थियो । कन्या, गौतम, जीवनज्योति मावि, वीरगंज स्काउटका विद्यार्थीहरू सम्मिलित प्रभातफेरीमा बाजागाजासहित ट्राफिक सचेतनामूलक सन्देश राखिएको थियो । आजदेखि शुरू भएको ट्राफिक सप्ताह जेठ ७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।