भ्रष्टाचारका आरोपीमा पश्चातापको साटो विजयी भाव, सभ्य समाजकै लागि खतराको सङ्केत

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले घटनालाई अत्यन्तै सामान्यरूपमा लिएको देखिएको छ । घटनाको गम्भीरता बुझेर अनुसन्धानमा सघाउनुको साटो खेलाँची गर्ने र सबै कुरा ठिकठाक भए जसरी शिर ठाडो पारेर गर्वका साथ हिँडेको देखिन थालेको हो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको अनुहारमा दुःख र चिन्ताको साटो खुसी देखिएको छ । आज सरकारी वकिलको कार्यालयमा प्रहरीले भ्यानबाट झारेपछि टोपबहादुर रायमाझीले विजयी भावमा हात हल्लाएका छन् । कालो जुत्ता, जिन्सको पाइन्ट र कोट लगाएर सरकारी वकिलको कार्यालय र अदालतमा पुगेका रायमाझीले मुस्कानका साथ पत्रकारहरूलाई हात हल्लाएर अभिवादन गरे । उनको अनुहारमा आफू थुनामा परेकोमा कुनै ग्लानी र पछुतोको भाव देखिएन ।

अर्का आरोपी बालकृष्ण खाण भने सरकारी वकिल र अदालतमा जाँदा मास्क लगाएर जाने गरेका छन् तर उनको अनुहारमा पनि चिन्ता भाव देखिँदैन । खाण अदालतमा जाँदा धेरै व्यक्तिले नमस्कार गरेर शिर झुकाएको पनि देखियो । यस्तै यसै घटनाका अरू आरोपीलाई प्रहरीले हतकडी लगाएर हिँडाउने गरेकोमा बालकृष्ण खाण र टोपबहादुर रायमाझीलाई भने हतकडी लगाएको छैन ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार नेताहरू भएकैले उनीहरूलाई हतकडी नलगाइएको हो । ‘हतकडी लगाउनुको मुख्य उदेश्य अभियुक्त भाग्न नसकोस् भन्नु नै हो, अरू अभियुक्तलाई हतकडी लगाउँदा नेताहरूलाई पनि लगाउनुपर्ने हो तर नेता भएकैले छुट पाएजस्तो देखियो’, ती अधिकारीले भने ।

भ्रष्टाचारका आरोपीमा पश्चातापको भाव नहुनु र नागरिकले पनि उनीहरूकै चाकडी गर्नुले समाजमा भ्रष्टाचार पाच्य हुँदै गएको बुझ्न सकिने नागरिक अभियन्ता एवम् शिक्षाविद् केदारभक्त माथेमा बताउनुहुन्छ । उहाँले भ्रष्टाचारी र भ्रष्टाचारका आरोपीलाई समाजले घृणा गर्ला, मेरो इज्जत गयो भन्ने भावना नहुनु र नागरिकले नमस्कार गर्दै हिँड्नु खतराको सङ्केत भएको पनि उल्लेख गर्नुभयो ।

विगतमा ठूला भ्रष्टाचारका काण्डमा मुछिएकाले सफाइ पाएको र कारागारबाट जेल सजाय भुक्तान गरेर बाहिर निस्कँदा सयौँ किलोको माला लगाएका घटनाले पनि अहिले टोपबहादुर रायमाझी, बालकृष्ण खाणमा पनि डर र पश्चातापको साटो घमण्ड र खुसीको भाव देखिएको हुनसक्ने माथेमाको भनाइ छ ।

यस्तै सुशासनविद् प्राध्यापक डाक्टर ताराप्रसाद भुसाल ठूला भनिएका नेता र उच्च तहका कर्मचारीलाई कारबाही भएमा मात्रै आम मानिसले भ्रष्टाचारीलाई घृणा गर्ने र भ्रष्टाचार ठूलो अपराध हो भनेर बुझ्ने बताउनुहुन्छ । यसका लागि समाजमा चेतनाको स्तर पनि बढ्नुपर्ने उहाँको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस घटनामा एक सय छ जनाले २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

 

Share your love