विश्व कप फुटबल : इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।

चुआमेनीले खेलको १७ औँ मिनेट र जिरुडले ७८ औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको सुरुमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरी खेलमा फर्किएको थियो । उसका ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुन: पेनाल्टीमार्फत् बराबरी गर्ने अवसर पाएको थियो । तर कप्तान ह्यारी केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली हार्यो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० गोलले पराजित गर्यो । मोरक्कोका युसुफ एन नेसरीले खेलको ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको दोस्रो हाफमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई मैदान प्रवेश गराएको भए पनि उनले टोलीलाई खेलमा फर्काउन सकेनन् । अल थुमामा मैदानमा पोर्चुगललाई हराएको मोरक्को विश्व कपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी देश समेत बनेको छ । क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

 

Share your love