विश्व कप फुटबलको क्वाटरफाइनलमा आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङ्ल्यान्ड खेल्दै

फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ ।

मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

क्वाटरफाइनलको अन्तिम खेलमा आज राति फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन् । यो खेल राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ । फ्रान्स साविक विजेता टोली हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि अर्जेन्टिना र क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना र गएराति भएको खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका हुन् ।

 

Share your love