कतारमा विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको ज्यान गयो

कतारबाट विश्वकप फुटबल–२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको ज्यान गएको छ । विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको हिजो निधन भएको जानकारी दिएको हो ।

लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार वाहललाई हृदयघात भएको कतार सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका वाहल  एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

अमेरिकी सरकारले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:खी भएको जनाएको छ । लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय अनलाइन प्लेटफम सबस्ट्याक मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।

गएकाे महिना मात्र उनलाई कतारी सुरक्षा अधिकारीले केही समय पक्राउ गरेका उनले बताएका थिए । लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सर्ट लगाएर रंगशाला जाँदा उनलाई पक्राउ गरिएको थियाे । उनले अमेरिका र वेल्सबीचको खेलमा आफूलाई प्रवेश नदिइएको पनि बताएका थिए । ४८ वर्षका ग्रान्टका विभिन्न पुस्तक समेत प्रकाशित छन् ।

Share your love