विश्वकप लिग-२: युएई सिरिजमा माेन्टी देशाईकाे वास्तविक परीक्षा

नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट युएईमा विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै छ। ३६ खेलमध्ये नेपालले २८ खेल खेलिसकेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको नेपालका लागि शीर्ष तीनको सम्भावना कायमै भएकाले युएई सिरिज नेपालका लागि थप महत्त्वपूर्ण छ।

घरेलु मैदानमा भएका सबै चार खेल जितेपछि आत्मविश्वासी बनेको नेपालका लागि युएई सिरिज भने सहज छैन। नामिबिया र युएईबीचको खेलमा कम रन स्कोरले नेपाललाई झस्काएको छ। पिचको कन्डिसन‍अनुसार नेपाली ब्याटरहरूले कसरी ब्याटिङ गर्छन् त्यो युएई सिरिजका लागि सर्वाधिक महत्त्वपूर्ण हुने छ।

त्यसो त घरेलु सिरिजमा बलिङको एकतर्फी जिम्मेवारी धानेका लेग स्पिनर सन्दीप लामिछानेको अभाव नेपाली टिमका लागि महंगो पर्ने पक्का छ। तर उनको अभावलाई पूरा गर्ने बलर अहिले नै तयार भएको अवस्था छैन। त्यसैले ब्याटरहरूले ५० ओभर खेल्दै सक्दो स्कोर बनाएर नै खेललाई आफ्नो पक्षमा लैजाने प्रयास गर्नुपर्ने छ।

नेपाललाई मुस्किल तर असम्भव छैन

नेपालले अब लिग-२ बाट फाइनल छनोटसम्म पुग्नका लागि बाँकी ८ मध्ये ७ खेल जित निकाल्नु पर्ने छ। तर यो बीचमा युएईको नतिजाले नेपाललाई थप सहज या असहज बनाउन सक्ने छ। तर एकदिवसीय मान्यतालाई कायम राख्नका लगि पनि ८ मध्ये ५ खेलमा जित निकाल्नु पर्ने छ। जुन निकै चुनौतीपूर्ण छ। यूएईका लागि नेपालभन्दा अवस्था केही सहज छ किनकि उसले नेपाल समान खेलबाट २९ अंक अर्थात् तीन अंक बढी बनाएको छ। त्यसैले घरेलु सिरिजमा नेपालसँगै पिएनजीविरुद्ध जित निकाल्ने लक्ष्यमा हुने छ।

यो सिरिजपछि विश्वकप छनोट अन्तर्गत आगामी जुन-जुलाईमा जिम्बावेमा भारत विश्वकपको फाइनल छनोट हुने छ। जहाँ सुपर लिगको पुछारमा रहने चारसहित पाँच राष्ट्र सहभागी हुनेछन्। त्यस्तै लिग-२ का शीर्ष तीन टिम अनि प्लेअफ क्वालिफायरबाट आएका शीर्ष दुई गरी कूल १० टिमबीच शीर्ष दुईमा रहनका लागि प्रतिस्पर्धा हुने छ। छनोटमा शीर्ष दुईमा रहने टिममात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान पक्का गर्ने छन्।

देशाईको वास्तविक परीक्षा

नेपाली राष्ट्रिय टिममा घरेलु सिरिजअघि मात्र अनुबन्धित भएका प्रशिक्षक मोन्टी देशाईले सानदार सुरुवात दिलाएका छन्। त्यसो त यसअघि पनि नेपाल घरेलु सिरिजमा अधिकांश समय बलियो रहँदै आएको छ। तर यो पटक उसले सबै चार खेलमा जित निकाल्दा प्रशिक्षक देशाईको भूमिका प्रंशसायोग्य रहेको थियो। यद्यपि उनको वास्तविक परीक्षा भने अब युएई सिरिजमा हुने छ। विदेशी भूमिमा नेपाल सधैँ कमजोर स्कोर पनि भेटाउन नसकेर पराजित भएका धेरै उदारण छन्। त्यसैले ब्याटिङ स्पेसलिस्ट समेत रहेका देशाइका लागि युएईमा नेपाली ब्याटरलाई अर्को चुनौतीका लागि तयार गर्नु र आफ्नो बलियो छविलाई कायम राख्नु अर्को चुनौती हुने छ।

उनले नेपालसँग अनुबन्धनका क्रममा नेपाली ड्रेसिङ रुममा परिवर्तन ल्याउँदै खुसीको माहोल सिर्जना गर्ने बताएका थिए। त्यसैले उनको यो अभियानको सार्थकता युएई सिरिजमा टिक्ने छ। त्यसो त देशाइले पहिलो पटक कीर्तिमानी स्कोरमा नेपालले ब्याटिङ गर्न सक्छ भन्ने छवि बनाएका छन्। त्यसैले नेपालको ब्याटिङ सुध्रिएको भनक दिन पनि उनले युएइको मैदानको फाइदा उठाउन जरुरी छ।

कुन टिमको कति खेल बाँकी?

जारी विश्वकप लिग-२ मा अहिलेसम्म ६ मध्ये ४ राष्ट्रले आफ्नो सम्पूर्ण खेल पूरा गरिसकेका छन्। जसमा नेपालमा नै स्कटल्यान्ड च्याम्पियन बन्दै च्याम्पियन ट्रफी हात पारेर घर फर्किसकेको छ। त्यस्तै ओमानले पनि विश्वकप छनोटमा स्थान बनाइसकेको छ।

नामिबियालाई नेपाले दुवै खेलमा पराजित गरेसँगै ओमानले विश्वकप छनोटमा स्थान बनाइसकेको हो। उसले ३६ खेलबाट ४४ अंक बनाएर छनोट हुन सफल भयाे। त्यस्तै, नामिबियाले ३६ खेलबाटै ३९ अंक बनाएर तत्काललाई तेस्रो स्थानमा रहेको छ। तर उसको तेस्रो स्थान रहने नरहने नेपाल र युएई र पिएनजीका बाँकी खेलले तय गर्ने छ। त्यस्तै, अमेरिकाले पनि विश्वकप लिग-२ मा आफ्ना सबै खेल खेलिसकेको छ। उसको ३५ अंक रहेको छ। अब शीर्ष ३ र ५ मा पर्ने लडाइँका लागि नेपाल र युएईनै मुख्य दाबेदार हुन्। जारी सिरिजमा पिएनजी सर्वाधिक कमजोर टिमका रूपमा रहेको छ। उसले केवल ५ अंक मात्रै बनाएको छ।

सिरिजमा अब नेपाल, युएई र पिएनजीबीच मात्रै खेल बाँकी रहेकाले यी तीन देशबीच हुने खेलको नतिजाले अन्य टिमको अंक तालिकालाई फरक पार्ने भएकाले नेपाल र युएईका लागि जारी युएई सिरिज र त्यसपछि नेपालमा हुने घरेलु सिरिज सर्वाधिक महत्त्वपूर्ण रहेको छ।

Share your love