प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दाेहा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जानु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएकाे हाे । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते शुक्रवार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्नु हुने बताउनुभयो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले त्याे सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ ।

नेपाली दूतावास र त्यहाँ रहेकाे नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी त्याे सम्मेलनमा सहभागी हुनुहुनेछ ।

 

Share your love