विलियम्सनले एकदिवसीय विश्वकप गुमाउने खतरा

एकदिवसीय विश्वकपअघि न्युजिल्यान्डलाई गम्भीर झट्का लागेको छ। टिमका स्टार खेलाडी केन विलियम्सन घुँडाको चोटका कारण एकदिवसीय विश्वकप गुमाउने खतरा रहेको न्युजिल्यान्डले जनाएको छ।

विलियम्सन घुँडामा चोट लागेपछि स्वेदेश फर्किएका थिए। उनको मंगलबार स्क्यान गरिएको थियो। रिपोर्टअनुसार उनको घुँडाको सर्जरी गर्नुपर्ने भएको छ। न्युजिल्यान्डले दिएको जानकारीअनुसार उनको आगामी तीन साताभित्र घुँडाको सर्जरी हुनेछ। त्यसपछि उनलाई खेलमा फर्किन कम्तिमा ६ महिना लाग्ने जनाइएको छ। जसका कारण उनी आगामी अक्टोबर–नोभेम्बरको विश्वकप गुमाउने सम्भावना रहेको हो।

चोटपछि विलियम्सनले यो बीचमा समर्थकहरुले देखाएको सद्भावप्रति आभार व्यक्त गरेका छन्। ‘मलाई पछिल्लो केहीदिनमा धेरै समर्थनहरु प्राप्त भएको छ। म गुजरात टाइटन्स र न्युजिल्यान्ड दुबै टिमलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘स्वभाविक रुपमा यो प्रकारको चोट लाग्नु निराशाजनक छ, तर म मेरो ध्यान अब सर्जरी र रिहाबमा केन्द्रित गर्ने छु। यसमा केही समय लागे पनि जतिसक्दो चाँडो मैदानमा पुनरागमन गर्ने प्रयास गर्नेछु।’

विलियम्सन आईपिएलका दौरान चेन्नई सुपर किंग्सविरुद्ध बाउन्ड्री लाइनमा क्याच लिने प्रयासमा चोटिल हुन पुगेका थिए। उनको दाँइने घुँडामा चोट लाग्न पुगेको थियो। चोटका कारण दोस्रो इनिङमा उनले ब्याटिङसमेत गर्न सकेका थिएनन्।

विलियम्सन २०१९ को एकदिवसीय विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। उनले ९ इनिङमा ५७८ रन बनाएका थिए। यस दौरानमा उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका थिए। समग्रमा उनले एकदिवसीय क्रिकेटमा १६१ खेलमा १३ शतक र ४२ अर्धशतक सहित कुल ६५५५ रन बनाएका छन्।

Share your love