उडानका क्रममा जहाजभित्र झगडा गर्ने दुई यात्रुलाई कारबाही गर्ने प्राधिकरणको तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई कारबाही गर्ने भएको छ।

हिजो बुधबार बेलुका ४ बजेर ३० मिनेटमा विराटनगरबाट काठमाडौँ उडान गरेको फ्लाइट नम्बर ७१० मा झगडा गरेका दुई यात्रुलाई कारबाही गर्ने तयारी थालेको हो। ती दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि प्राधिकरणले यसबारे बुद्ध एयरसँग स्पष्टीकरण मागेको छ।

यसरी झगडा गर्नु हवाई सुरक्षा विरुद्धको कार्य भएको उडान सुरक्षाको नियम तथा मर्यादा पालना नगर्ने यात्रुलाई कारबाही गर्न सकिने व्यवस्था रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जसअनुसार बुधबारको घटनालाई लिएर कारबाही गर्न बुद्धसँग स्पष्टीकरण मागेको उनले बताए।

बुधबारको उक्त उडानमा सँगै सीटमा बसेका दुई यात्रुबीच झगडा भएको थियो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले झगडा भएलगत्तै दुवैजनाको सिट परिवर्तन गरिएको जानकारी दिए।

काठमाडौँ विमानस्थल अवतरण गरेसँगै दुवै यात्रुलाई सुरक्षा विभागमा बुझाइएको उनले बताए।

Share your love