विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने बताउनुभयो । उहाँले पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको भन्दै ईच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राख्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले विपद्बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभरका दमकलहरुलाई एकीकृत रुपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको पनि जानकारी दिनुभयो । त्यस्तै देशैभरी विभिन्न कार्यविधि र निर्देशन अनुरुप चलिरहेका एम्बुलेन्सहरुलाई एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री लामिछानेले देशभर लागिरहेको डढेलोलाई रोक्नका लागि ध्यान दिन नसकिरहेको पनि बताउनुभयो ।

Share your love