विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई जिफन्टको दबाब

 नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिनुभएको हो । उहाँले देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरुलाई पनि आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो,  ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भीर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ ।’

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको पनि हित प्रवर्द्धन हुनुपर्ने बताउनुभयो ।

 

Share your love