वायु प्रदुषणलगायतका कारण फोक्सोमा असर : चेतना जगाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

फोक्सोको दीर्घकालीन रोग नेपालमा हुने मृत्युको मुख्य कारणमध्ये एक भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस्तो मृत्युमा ६६ प्रतिशत वायु प्रदुषणको कारणबाट हुन्छ । नेपालमा सन् २०१९ मा वायु प्रदुषणका कारण ४२ हजार एक सय जनाको ज्यान गएको थियो । त्यसमध्ये काठमाण्डौमा मात्रै ५ हजार ८० जना थिए । वायु प्रदुषणलगायतका कारण फोक्सोमा पर्ने असर कम गर्न र फोक्सोलाई स्वस्थ राख्न चेतना जगाउने उदेश्यले स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान गरेको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा यूएसएआईडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरेको हो । कृत्रिम फोक्सोमार्फत वायु प्रदुषण र यसले स्वास्थ्यमा पार्ने असरबारे आम नागरिक र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र वायु प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र राखिएको छ । जसले फोक्सोको सास फेर्ने गतिलाई प्रतिबिम्ब गर्नेछ ।

‘३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको असरले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदुषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुराउँदछ’, मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारले भन्नुभयो, ‘कृत्रिम फोक्सोसँगै काठमाण्डौको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।’


 

Share your love