लागुऔषधहित बाराबाट तीन जना पक्राउ

लागुऔषधसहित बाराबाट तीन जना पक्राउ परेका छन्। प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ बाट म. प्र. ०३–००१ क. २२४३ नम्बरको टेलर (लहरी) चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा लहरीको सिटमुनी लुकाइ राखिएको अवस्थामा प्रहरीले लागुऔषध इन्जेक्शन डाइजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन २८ एम्पुल, निट्राभेट ७५ ट्याबलेट र निट्राजेपाम ८० ट्याब्लेट बरामद गरेको हो।

लागुऔषध बरामद भएपछि लहरी चालक रामेछाप खाँडदेवी गाउँपालिका–२ बस्ने अर्जुनकुमार श्रेष्ठ र लहरीमा सवार रहेका जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने दिपेश कार्कीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

यस्तै, जीतपुर सिमरा उपमहानगरपालिका–१ बाट नै चेकजाँचको क्रममा प्रहरी टोलीले म.प्र. ०३–००१ क. २२४२ नम्बरको लहरीको क्याबिनमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद गरेको थियो।

प्रहरीले लहरीबाट लागुऔषध इन्जेक्शन डाइजेपाम २६ एम्पुल, नुर्फिन २६ एम्पुल, फेनारगन २६ एम्पुल, निट्राभेट १ सय ५० ट्याबलेट र निट्राजेपाम ४० ट्याब्लेट बरामद गरेको थियो। लागुऔषधसहित लहरीका चालक मकवानपुर मनहरी गाउँपालिका–२ बस्ने पुष्पबहादुर राईलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Share your love