लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताउनुभएको छ ।

बिहीवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले ‘क्यान्टनमेण्ट’ काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गर्नुभयो । उहाँले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाउनु भयो ।

उहाँले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गर्नुभयो।

नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटीरुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाइते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटी निर्णय गरेको छ ।’

ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप पनि लगाउनु भयो ।

नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ, जो सुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन ।’

ओलीले भ्रष्टाचारकोविरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाउनु भयो । उहाँले संसदमा केही दिन अघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताउनु भयो ।

 

Share your love