‘रुसी सेनाको आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्याे’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्दै गइरहेको बताउनुभएको छ । उहाँले बख्मुत सहरमा अहिले धेरैजसो संरचना ध्वस्त भइसकेका र अवस्था कष्टकर रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसले छ महिनाभन्दा लामो समयदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ । बख्मुत सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ ।

यसैबीच अमेरिकी अर्थ मन्त्री जेनेट यलनले रुसलाई हतियार उपलब्ध नगराउन चीनलाई चेतावनी दिनुभएको छ । आकस्मिक भ्रमणका क्रममा किभ पुगेकी जेनेट यलनले चीनले रुसलाई हतियार आपूर्ति गरे गम्भीर नतिजा निम्त्याउने बताउनुभयो ।

गएको हप्ता अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनले रुसलाई हतियार र गोलाबारुद आपूर्ति गर्ने विषयमा विचार गरिरहेको बताउनुभएको थियो । तर चीनले त्याे दाबीको खण्डन गरेको छ । किभ पुग्नुभएकी अमेरिकी अर्थ मन्त्री यलनले युक्रेनलाई एक अर्ब २५ करोड डलरको आर्थिक तथा बजेट सहायता घोषणा गर्नुभयो ।

Share your love