ट्यांकर चोरी प्रकरणः एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो, दुई जना धरौटीमा रिहा

ट्यांकरमा लोड रहेको डिजेल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। अन्य दुई जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जिल्ला अदालत सप्तरीले सोमबार तेल चोरी प्रकरणका एक जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने चोरीको डिजेल किन्ने व्यक्ति र ट्यांकर चालकलाई धरौटीमा रिहा गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

जिल्ला अदालत सप्तरीले कञ्चनरुप नगरपालिका–९ बस्ने २९ वर्षीय नवराज भुजेललाई पुर्पक्षका लागि थुनामा पठाएको हो। भुजेलले ट्यांकरबाट डिजेल चोरी गरेर बेचेको आरोप छ।

यस्तै, चोरीको डिजेल किनेको आरोप लागेका खडक नगरपालिका–७ का भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साहलाई ५ लाख धरौटी र ट्यांकर चालक कञ्चनरुप–९ का ४५ वर्षीय विनोदकुमार भुजेललाई एक लाख धरौटीमा रिहा गरिएको प्रवक्ता सिंहले जानकारी दिए।

गत माघ ११ गते नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगर पठाएकोमा बाटोबाटै ट्यांकर चोरी भएको थियो।

ट्यांकर चालक भुजेलले तेल लोड ट्यांकर सोही दिन साँझको करिब ७ बजे कञ्चनरुप–८ स्थित बिकी पम्पमा ट्यांकर पार्किङ गरेर आफ्नो घर गएका थिए। सो ट्यांकर माघ १५ गते बिहान करिब ९ बजे शम्भुनाथ नगरपालिका–२ खैरबनामा बेबारिसे अवस्थामा फेला परेको थियो।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार बेवारिसे अवस्थामा ट्यांकर फेला परेको जानकारी पाउनासाथ उक्त स्थानमा प्रहरी पुगेर ट्यांकर चेकजाँच गर्दा ट्यांकरमा रहेको ५ वटा च्याम्बरमा ४ हजार लिटरका दरले २० हजार लिटर डिजेल रहेकोमा ४ वटा च्याम्बर खाली थियो भने एउटा च्याम्बरमा डिजेल बाँकी थियो।

नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त ट्यांकरको सिल तोडिएकाले शंकास्पद व्यक्ति तथा पम्पहरुलाई प्रहरी र नेपाल आयल निगम १ नं. प्रदेश प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीको संयुक्त टोलीले छानबिन तथा चेक जाँच गर्दा नवराज भुजेलसमेतले रातको समयमा डिजेल लोड भएको ट्यांकर चोरी गरेर १६ हजार लिटर डिजेल बिक्री गरेको खुलेको थियो।

Share your love