राष्ट्र बैंकमा जागिर खान कुनै पनि खालकाे भन्सुन चल्दैन : पूर्व गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दावी गर्नु भएको छ ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहनुभएका पूर्व गभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताउनु भएको हो । उडान शैक्षिक केन्द्रले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको पटकपटक दोहोर्‍याउनु भयो ।

पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताउनु भयो । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।

पूर्वगभर्नर नेपालले नेपालमा नपढ्नेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गर्नुभयो । उहाँले माध्यामिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको बताउनु भयो ।

 

Share your love