राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच प्रतिस्पर्धा हुने

राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् । भोलि हुन लागेको चुनावमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हिजो बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका धेरैजसो नेताहरुले ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

पार्टीको यो निर्णयमा माओवादीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल चार वर्षपछि सकिँदैछ । यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि कांग्रेसमा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भए पनि जित्न नसक्ने अवस्था भएपछि नयाँ उम्मेदवार खडा गरिएको हो । राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।

 

Share your love