राष्ट्रिय सभाबाट २ वटा विधेयक पारित

राष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाेमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।

यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले राष्ट्रिय सभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधि सभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा. विमला राई पाैड्याल, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक २०७८/७९ प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रिय सभाको अर्काे बैठक यही चैत ३० गते बिहीवार दिउँसाे बस्नेछ ।

 

Share your love