राष्ट्रसंघ पर्यवेक्षक टोलीले युक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले यूक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने भएका छन् । पर्यवेक्षकसहितको टोली युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेको छ । रुस र कीएभले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन् ।

आक्रमणबाट हुनसक्ने क्षतिले विकिरणको व्यापक चुहावट हुने जोखिम बढेको छ । युक्रेनले जापोरिजझिया प्लान्टलाई रुसले कब्जा जमाएको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर रूसले त्यहाँ युक्रेनले नै अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएको छ ।  विश्वका नेताहरूले संयुक्त राष्ट्रसङ्घको आणविक अनुगमनकारी निकायलाई यसको निरीक्षण गर्न अनुमति दिन माग गर्दै आएका छन् ।

अनुगमनका लागि यसअघि रुस सहमत भएको थियो । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले रूसलाई विद्युत् गृह वरपरको क्षेत्र पूर्ण रुपमा सैन्य गतिविधिरहित बनाउन आग्रह गर्नुभएको छ । युक्रेनले उर्जा केन्द्र फिर्ताका लागि अन्तर्राष्ट्रिय सहयोग मागिरहेको छ । युक्रेनी ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले उर्जा केन्द्र फिर्ताको मिसन आफूहरुका लागि महत्त्वपूर्ण कदम हुने प्रतिक्रिया दिएको अमेरिकी समाचार संस्था, एसोसिएटेड प्रेसले जनाएको छ ।

Share your love