बीमा कम्पनीहरू खेतबारीसम्म पुग्नुपर्छ : अर्थमन्त्री शर्मा

सुर्खेत – अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । आज बिहीवार सुर्खेतमा रहेको बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका धेरैजसो नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो  ।

अर्थमन्त्री शर्माले बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा सहर–बजारमा सीमित नभइ गाउँ–गाउँसम्म पुग्नुपर्ने बताउनुभयो ।  बीमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँ–गाउँमा पुग्नुपर्ने उहाँको भनाइ थियो ।

बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको छ भन्दै उहाँले थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बीमितका समस्या समाधान गर्नुपर्ने बताउँदै अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बीमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह ९आचार्य० ले गरिब परिवारहरू बीमाको पहुँच बाहिर रहेकाले बीमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिनुभयो । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा व्यवसायलाई विविधिकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

Share your love