राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमण गरी स्वदेश फिर्ता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आइसल्यान्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले गत बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो । डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गरेका थिए।

आइसल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग पनि भेट गरेकी थिइन् । आइसल्यान्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहीत सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको बताएकी थिइन् । राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।

Share your love