राष्ट्रपतिकाे उम्मेदवार फागुन १३ गते टुङ्गिहाल्छ नि : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आज बिहीवार दिउँसाे राष्ट्रपति चुनावकाे विषयमा केन्द्रित भएर छलफल भएको हो ।

सिंहदरबारमा रहेकाे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताउने विषयलगायतका कुनै पनि विषयमा फाइनल नभएको प्रतिक्रिया दिनुभयो । यता अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले आफूहरू देशको हित हुने विकल्पमा जाने पनि बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई एकीकृत समाजवादीले पनि तीव्रता दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनुभएको छ । राष्ट्रिय सहमतिका लागि पनि कांग्रेसलाई समेट्नुपर्ने भन्दै उहाँले कांग्रेस नेताहरूलाई राष्ट्रपति दिने वचन दिनुभएको बताइएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्रीले निरन्तरता दिनुभएको छ ।

 

Share your love