प्रचण्डसँग नेपालकाे माग: मलाई राष्ट्रपतिकाे उम्मेदवार बनाइदिनूहाेस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन माग गरेका छन्। बिहीबार सिंहदरबारमा भएको छ्लफलका क्रममा नेपालले आफूलाइ राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरेको बैठकमा सहभागी समाजवादीका एक नेताले जानकारी दिए।

प्रचण्डले आफू तयार रहे पनि यस विषयमा नेपाली कांग्रेसलगायत अन्य दलसँग छ्लफल गर्नुपर्ने जवाफ दिएका छन्।  राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त आज साँझ छ बजे बस्दैछ। बैठकमा राष्ट्रपतिको विषय र पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा छलफल हुने स्रोतको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी अध्यक्ष नेपाललाई उम्मेदवारका लागि प्रस्ताव गरेका थिए। पार्टी एकतासहित राष्ट्रपतिको प्रस्तावका लागि ओलीसँग सकारात्मक देखिएका नेता नेपालले एमालेसँगै नेपाली कांग्रेस र माओवादीका शीर्ष नेतासँग निरन्तर भेटवार्ता गरिरहेका छन्।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस-माओवादी बैठकमा पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने अनौपचारिक सहमति भएको बताइएको छ।

Share your love