राम्रो गर्ने, राम्रोबाहेक नगर्ने याे सरकारकाे नीति हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रोबाहेक नगर्ने रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई सरकारी निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेर नागरिककाे विश्वास जित्न आवश्यक भएको बताउँदै गर्न चाहे हुने रहेछ भन्ने आभाष नागरिकमा दिलाउन सकिने बताउनुभयो ।

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उहाँको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै उहाँले त्यस क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताउनुभयो । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आउँदाे सरकारले कर्णालीका नागरिकका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, नागरिकसँग जीवन्त सम्बन्ध बनाउने र नागरिकको विश्वास जित्ने काममा लाग्न निर्देशन दिनुभयो ।

 

Share your love