निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्टित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उहाँको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो ।

उहाँले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो । सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

Share your love