रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

रसबरी र तेल राख्न प्रयोग हुने टिनको बट्टामा लुकाएर औषधिजन्य लागूऔषध तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चलाएको अपरेशनका क्रममा त्यस्ता बट्टामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो ।
ब्यूरोका एसपी योगेन्द्रबहादुर तिम्सिनाका अनुसार प्रहरीले २४ भदौमा ललितपुरको थसिखेलबाट पिकअप गाडीमा लुकाएर राखेको लागूऔषध बरामद भएको छ ।बा ५ च ७१३८ नम्बरको पिकअपबाट प्रहरीले बुपेनोर्फिन, फेनारगन र डाइजेपाम बरामद गरेको थियो । गाडीका चालकलाई पछउँदै जाँदा प्रहरीले चुनिखेलस्थित लागूऔषध भण्डारण गर्न लिइएको कोठासम्म पुगेको थियो ।
त्यहाँबाट प्रहरीले ३९ वर्षका अर्जुन ढकाललाई पक्राउ गरेको छ । डेरामा थप लागूऔषध बुपेनोर्फिन, डाइजेपाम र फेनारगन २८४०/२८४० एम्पुल बरामद गरेको छ । प्रहरीले जम्मा ९ हजार ५२० एम्पुल औषधिजन्य लागूऔषध बरामद गरेको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका ढकाल डाँका मुद्दामा  ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।
Share your love