यही सरकार कायम रहे मुलुक टाट पल्टिनु अनिवार्य छ : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत रहेको औंल्याए।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए।

उनले भने, ‘अब यदि १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अव डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरी मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ । अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ।’

ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताए।

Share your love