क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् ।

प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

आजै  प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए ।

जित पश्चात् श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेको आचार्यले बताए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो ।

Share your love