मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ

ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा सोही अस्पतालमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन्। ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविक शुल्क लिने र सफ्टवेयर इन्ट्रीमा भने वास्तविकभन्दा कम शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

यसरी उनीहरुले २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।

Share your love