मिटरब्याज पीडितलाई गृह मन्त्री श्रेष्ठकाे आश्वासन– ‘माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्’

उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताउनुभएको छ ।

आइतवार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुग्नुभएका गृह मन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताउनुभएको हो । उहाँले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, ‘तपाईँहरू ढुक्क भएर घर फर्किनुहोस् । तपाईँका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।’

मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढ्ने पनि बताउनुभयो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौँ । उहाँहरू अब फर्किने तयारीमा हुनुहुन्छ । उहाँहरूले हामी विश्वस्त भएर जादैछौँ, आजै बेलुका जान्छौँ होला भन्नुभएको छ । सहमति कार्यान्वयन हुन्छ, उहाँहरू ढुक्क हुनुहुन्छ । आयोग बनाउने कानुनको प्रक्रिया अगाडि बढिसकेको छ । प्रस्ताव मन्त्रिपरिषदमा छ ।’

पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे । एक पीडित मनाेजकुमार पासवानले आफूहरू भोलि (सोमवार) सम्ममा गाउँ फर्किसक्ने बताउनुभयो । गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरू स्वयंले गरेको उहाँले जानकारी दिनुभयो ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरू गृह जिल्ला फर्कने तयारीमा छन् ।

 

Share your love