मामाको हत्या आरोपमा भान्जा पक्राउ

प्रहरीले मामाको हत्या आरोपमा मोरङबाट भान्जालाई पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–८ का एक जना युवकले धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले बाम्फोकले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् । महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ हो ।

५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका महरा खाना खाएर सुतेपछि उनीमाथि भान्जा सुजनले आइतबार राति ११ः४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हत्याको कारण खुलेको छैन । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएका छन् ।

Share your love