मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ क्रिकेटमा समूह विजेता

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१–७ को कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।

नेपालले निरजकुमार यादवलाई ८ रनमै गुमाएको थियो । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । स्पीनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए ।

मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए ।

मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो । मलेसियालका लागि विकेट किपर मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए ।

शीर्ष क्रमका ब्याटर धेरैबेर क्रिजमा नटिक्दा पाँचौं विकेटका लागि मोहम्मद अक्रम र हैरिलले ३२ रनको ठूलो साझेदारी गरे ।

मलेसियाका लागि कप्तान मोहम्मद अलिफले १५, माहम्मद अक्रमले १२ रन बनाए । ८२–६ को अवस्थामा अक्रम क्याच आउट भएपछि मलेसियाका कुनै पनि ब्याटर टिक्न सकेनन् ।

८५–९ को अवस्थामा रहेको मलेसियाले अन्तिम विकेटमा १४ रन जोडे । मलेसियाका लागि आर्यन अकिल १० रनमा अविजित रहे । मलेसियाले एक्स्ट्रा २० रन पाए पनि जित्न भने सकेन ।

नेपालका लागि बलिङमा अशोक धामीले ७ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ४.५ ओभरमा ३ विकेट, सन्तोष यादवले २ र कात्तिक कमाटले १ विकेट लिए । नेपालले जुन ३ मा समुह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

Share your love