मनसुन शुरु भएपछि कमला नदिले गर्न सक्ने क्षतिको विषयमा जिल्ला विपत् व्यवस्थापन समिति धनुषाका पदाधिकारीहरूले आज स्थलगत रुपमा अनुगमन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालको नेतृत्वमा गएको टोलीले कमला नदिमा धनुषा तर्फ निर्माण गरेको बाँधको अवस्थाका बारेमा अनुगमन गर्दै सम्बन्धित पालिकाका प्रमुख तथा स्थानीयवासीसंग कुराकानी गरेर जानकारी लिएको छ ।

अनुगमन टोलीले नेपाल भारतको सिमानामा रहेको जनकनन्दनी गाउँपालिकाको वडा नंं १ ईनर्वासंगै भारत तर्फको भागमा भारत सरकारले निर्माण गरेको तटबन्धका विषयमा जानकारी लिनुका साथै यसले पार्ने प्रभाव बारेमा जानकारी लिएको छ ।

जनक नन्दनी गाउँ पालिकाका उपाध्यक्ष कमला सहगलले भारत सरकारले निर्माण गरेको तटबन्धले पारेको सकारात्मक तथा दीर्घकालमा पार्ने नकारात्मक विषयका बारेमा जानकारी दिनु भएको थियो । उहाँले कमलाको जोखिममा पालिकाको ईनर्वा, कठाल, बलहा तथा पतनु गाउँ रहेको जानकारी दिनु भयो ।

यसै गरि धनुषाको कमला नगरपालिकाको विभिन्न भागमा रहेको कमलाको तटबन्धको अवस्थाको विषयमा अनुगमन टोलीले जानकारी लिएको छ । कमलाको लक्कड, हथमुण्डाको स्थलगत निरीक्षण गरेर सम्भावित जोखिमको विषयमा जानकारी लिएको छ ।

अनुगमन टोलीलाई कमला नगरपालिकाका नगरप्रमुख विश्वेश्वर यादवले जानकारी दिनुका साथै तटबन्धको सुरक्षा अन्य काममा नगरपालिका पनि सघाउनका लागि तयार भएको बताउनुभयो ।

धनुषाको सवैला नगरपालिकामा रहेको पटेर्वाको स्थलगत निरीक्षण गरि भएको समस्याका बारेमा जानकारी लिँदै गर्नु पर्ने कामका विषयमा जानकारी लिएको छ भने सवैलाका नगरप्रमुख कारीराम यादवले भएको समस्याका विषयमा अनुगमन टोलीलाई जानकारी दिएको छ ।

अनुगमन टोलीले कमला तथा नारनाथ खोलाको सङ्गममा रहेको तटबन्धको स्थलगत निरीक्षण गर्दै सम्भावित जोखिमको बारेमा जानकारी लिँदै तटबन्धको छेउमा वृक्षारोपण गर्नका लागि पालिकालाई सुझाव दिएको छ । गणेशानचारनथ नगरपालिकाका नगरप्रमुख जीतनारायण यादवले समस्याका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा कमला नदी नियन्त्रण आयोजनाले तटबन्धमा भएको समस्याका समाधानका विषयमा गरेको कामको विषयमा आयोजनाका प्रमुख डिभिजनल इन्जिनियर विष्णुदेव यादवले जानकारी दिनु भएको थियो ।अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, कमला नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाली सेनाका प्रमुखहरूको सहभागिता रहेको थियो ।