काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ ।

बिहीवार आज राष्ट्रिय सभामा आउँदाे आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न समस्या भइरहेको बताउनु भयो ।

उहाँले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताउनु भएकाे छ । उहाँले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै  छोड्ने दाबी गर्नुभयाे।

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको ठाउँमा डाक्टरहरुको पहुँच पुर्याएर नै छोड्ने दाबी गर्नुभयाे । उहाँले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालयमा बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गरिने बताउनु भयो ।

उहाँले ८ सय डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिएन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नहुने समेत बताउनु भयो । उहाँले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई ‘अप्रेशन’ नै गर्नुपर्ने बताउनु भयो।

 

Share your love