मतदाता शिक्षामा लगानी, ‘बालुवामा पानी’ : बदर मत बढेको बढ्यै

४ मंसिरमा सम्पन्न प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै चार प्रकारका मतपत्र थिए। प्रत्यक्षतर्फ उम्मेदवारअनुरूप कमै चुनाव चिह्न थिए। समानुपातिकतर्फ प्रदेशका ३४ र प्रतिनिधिसभाका ४७ दलका चुनाव चिह्न थिए। एक मतपत्रमा एक मात्रै स्वस्तिक छाप लगाउनुपर्ने थियो।

यसपटकको निर्वाचनमा कञ्चनपुरमा निर्वाचन आयाेगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरे पनि स्थानीय तहहरूले मतदाता शिक्षाकै नाममा लाखौँ रकम खर्च गरेका छन्। तर, उक्त लगानी बालुवाको घर बनाएजस्तै देखिएको छ। यसपटकको निर्वाचनमा समेत बदर मत ह्वात्तै बढेको देखिएको छ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार कञ्चनपुरमा संघको प्रत्यक्षतर्फ १२ हजार दुई सय ३३ र समानुपातिकतर्फ १२ हजार ६३५ तथा प्रदेशको प्रत्यक्षतर्फ नाै हजार दुई सय ८६ र समानुपातिकतर्फ १२ हजार एक सय ५९ मत बदर भएका छन्। प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत बदर भएका छन्। संघतर्फ एक लाख ८६ हजार तीन सय २२ खसेकोमा ६.५६ प्रतिशत मत बदर भएका छन्। प्रदेशतर्फ एक लाख ७८ हजार एक सय ८४ मत खसेकोमा ५.२१ प्रतिशत बदर भएका छन्।

निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीले आयोगबाट मतदाता शिक्षाका लागि बजेट कार्यक्रम नआएको बताए। ‘बदर मत कम गर्न आयोगबाट कुनै कार्यक्रम आएन,’ उनले भने, ‘जिल्लाबाट पालिकाले आफ्नै स्रोतमा मतदाता शिक्षा कार्यक्रम गरेका थिए।’ हरेक पालिकाले दुईदेखि पाँच लाखसम्म रुपैयाँ खर्च गरेर विभिन्न प्रकृतिको मतदाता शिक्षा कार्यक्रम गरे पनि बदर मत भने बढेको बढ्यै छ।

बदर मत बढ्दा जित्ने उम्मेदवार पराजित हुने र पराजित हुने जित्ने अवस्था हुन सक्ने हुँदा सिंगो लोकतान्त्रिक प्रणालीमा नै असर पर्ने राजनीति शास्त्रका प्राध्यापकको भनाइ छ। सुदूरपश्चिम विश्वविद्यालयको राजनीतिशास्त्रका पूर्वप्राध्यापक डा. टेकराज पन्तले राज्यले मतदाता शिक्षामा लगाउने लगानी प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्दा बदर मत संख्या हरेक निर्वाचनमा वृद्धि भइरहेको बताए। ‘विगतको तुलनामा समाजसमेत सचेत र शिक्षित भइरहेको छ,’ उनले भने, ‘मत बदर रोकिनुपर्ने हो, तर रोकिएको छैन, यो गम्भीर विषय छ।’

मतदाताको संख्या अनुपातमा निकै मतदान कम हुनु पनि दलहरूप्रति जनतामा विश्वास गुम्दै गएको डा. पन्तले बताए। जिल्लामा रहेका तीन लाख दुई हजार पाँच सय नाै कुल मतदातामध्ये यसपटक ६१.५९ प्रतिशत मात्रै मत खसेको थियो। तीन प्रतिनिधि र ६ प्रदेश सभा सदस्य रहेको कञ्चनपुरमा विभिन्न १५ राजनीतिक दलसहित स्वतन्त्र गरी ८० उम्मेदवार चुनावी मैदानमा होमिएका थिए।

Share your love