भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब अवस्थामा

गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ । विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन् ।

अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो । जसका कारण डलरमा विदेशी लगानी बढ्दा डलर झनै बलियो बनेको छ । भारु कमजोर र डलर बलियो बनेकै कारण गएको वर्ष विदेशी लगानीकर्ताले भारतबाट अर्बाैँ डलर बराबरको लगानी र नाफा अरू देशमा लगेका छन् ।

 

Share your love