सेवाग्राहीले लाइन बस्नुपर्ने अवस्था नहटे पदाधिकारीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा चासो राख्दै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएकाे छ । आज मङ्गलवार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँगकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो ।

सङ्घीयताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पूरा हुन नसकेको बताउँदै उहाँले नागरिकले आशा गरेअनुरूप विगत पाँच वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

यसैगरी प्रधानमन्त्रीले गृह प्रशासनलाई अपराधसँग सम्बन्धित उजुरीहरू तत्काल फर्छ्याेट गर्नसमेत निर्देशन दिनुभयो । मिटरब्याजीका हजारौँ उजुरी थन्किएको समाचारतर्फ इङ्गित गर्दै उहाँले मिटर ब्याजका नाममा आपराधिक लाभ लिने क्रम नरोकिएकोले अबको तीन महिनाभित्र सवारी दुर्घटना घटेको, अपराधसँग सम्बन्धित मुद्दा फर्छ्याेटकाे र मिटर ब्याजीको मुद्दा नतीजा देखिने गरी सम्बोधन भए/नभएको आधारमा सम्बद्ध मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन हुने बताउनुभयो ।

 

Share your love