भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको हाे।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ।

भारतबाट बढेर नयाँ मूल्य पाएपनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन। नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको छ।

यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ। भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ। आईओसीले एलपी ग्याँसको मूल्य भने बढाएको छैन ।

Share your love