अनेरास्ववियूले घेर्‍यो जनक शिक्षा सामाग्री केन्द्र

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ। कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोधमा अनेरास्ववियूले बुधबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको केन्द्रीय कार्यालय घेराउ गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रभित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको आरोप लगाए।

जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने र शैक्षिक सामाग्री समयमै पुर्‍याउनुपर्ने उनले बताए। उनले शैक्षिक क्षेत्रमा हुने नीतिगतलगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने तथा त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद गर्ने बताए।

Share your love