ब्लड बैंक वीरगंजबाट सखुवाप्रसौनी गाउँपालिकाका जनताले नि:शुल्क रगत पाउने

पर्साको सखुवाप्रसौनी गाउँपालिकाबासीले निःशूल्क रुपमा रगत प्राप्त गर्ने भएका छन् । सखुवाप्रसौनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज पर्साबिच भएको सम्झौताबमोजिम त्याहाँका बासिन्दाका लागि आवश्यक पर्ने रगत निःशूल्क रुपमा प्राप्त गर्ने भएका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जसँग भएको सम्झौतामा सखुवाप्रसौनीका बासिन्दालाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा लेखिएको छ । त्याहाँका बासिन्दाले चिकित्सकबाट गरिएको सिफारिसको प्रतिलिपी रक्तसञ्चार केन्द्रमा दिएर रगत प्राप्त गर्न सक्नेछन् ।

यस्तै गाउँपालिकाका कर्मचारीको हकमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतले सिफारिस गर्नुपर्ने छ भने सर्वसाधारणको हकमा पहिचान खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।प्रत्येक महिनाको ५ गतेसम्म रक्तसञ्चार केन्द्रबाट बिरामीलाई उपलब्ध गराइएको रगतको हिसाव गाउँपालिकाको प्रतिनिधिलाई उपलब्ध गराइने पनि सम्झौता पत्रमा भनिएको छ ।

सम्झौतामा कुनै किसिमको फेरबदल गर्नु परेमा एक पक्षले अर्को पक्षलाई पूर्व जानकारी गराउनुपर्ने छ । रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एवम् परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै तिर्ने सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले बताउनुभयो।

सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष यादव र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्रराज कँडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले विपद् व्यवस्थापन, स्वास्थ्य एवम् सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने साथै मानविय सेवाको काममा आफू निरन्तर सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनु भएको हो  ।

सम्झौता हस्तान्तरण कार्यक्रममा रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादव, महुवन उपशाखाका सभापति जदु साहलगायत स्थानीय रेडक्रसर्माीको उपस्थिाति रहेको थियो । यसअघि ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले पनि निःशूल्क रगत उपलब्ध गराउन सम्झौता गरीसकेका छन् ।

Share your love