बैंकविरुद्ध उद्याेगी व्यवसायीकाे प्रदर्शन

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका नाै वटा महासङ्घ र ३८ वटा सङ्घले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताउनुभयो । उहाँले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताउनुभयो । उहाँले व्यापारीहरूले आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आराेप लगाउनुभयाे ।

पछिल्लो समय कोभिड महामारीलगायतका कारण नेपालका उद्योग धन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ ।

Share your love