बाग्मतीमा कांग्रेसका २ मन्त्रीले लिए शपथ, अझै ५ मन्त्रालय नेतृत्वविहीन

 बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो । लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त हुनुभएकाे हाे । दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुभयो ।

अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा गएको कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकीकृत समाजवादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भए पनि पार्टीबाट मन्त्री बन्नेको नाम प्राप्त नभएको उहाँले बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनुभएको १६ दिनपछि आज बल्ल दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । अझै मुख्यमन्त्रीले अरू पाँच वटा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

 

Share your love